घरमा कोही नभएको मौका पारेर सुनचाँदीका गरगहना चोरी गर्ने तीन जना पक्राउ 


काठमाडौं – घरमा कोही नभएको मौका पारेर ताला फोडी सुनचाँदीका गरगहना र अन्य धनमाल चोरी गर्ने तीनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको चमतीबाट, बस्ने सञ्जय तामाङ, रवि महर्जन र नुवाकोटका माकाभेली भन्ने सुजन तामाङ रहेका छन्। 

काठमाडौं महानगरपालिका १५ चमतीस्थित घरमा कोही नभएको अवस्थामा ताला फोडी सुनचाँदीका गरगहना र अन्य धनमाल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। 

उनीहरूलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट गाँजा, सिरिन्ज, चाँदीको पाउजु, बाला, कल्ली, औँठी, क्यामेरा , कचौरा, दियो, धूप दानी, मूर्ति, सिकुण्डा, लोटा, धुपौरो, ल्यापटप, घडी, मोबाइल, भेप,  स्कुटर र नगद ६ हजार बरामद गरेको छ।