चितवन र कञ्चनपुरबाट जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ


काठमाडौं – प्रहरीले चितवन र कञ्चनपुरबाट जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका–२९ देवीटार बस्ने ६५ वर्षीय सुरज लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरज समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार २ सय ६५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो। यसैगरी चितवन, भरतपुर महानगरपालिका– ११ गोर्खालीटोल बस्ने बाला गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–११ बसेनी बस्ने ५० वर्षीय राजेश गुरूङ समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८७ हजार ६ सय ७० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो। 

साथै, कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ मदन चोकस्थित ४२ वर्षीय देब बहादुर चन्दले सञ्चालन गरेको देबु होटलमा जुवातास खेलिरहेको अवस्थामा देब बहादुर समेत ८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ८० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।