काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार पनि काठमाडौं उपत्यकाका १२ वटा व्यावसायिक फर्ममा स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले ललितपुर महानगरपालिका–२० मा रहेको न्यू डाइमण्ड फर्निचर सेन्टरलाई १० हजार रूपैयाँ जरिवाना गरेको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम खरिद बिल नभएको पाइएकाले सो फर्मलाई जरिवाना गरिएको विभागको भनाइ छ। यस्तै, काठमाडौंकाे गोङ्गबुमा रहेको अजिमा चस्मा घरलाई पाँच हजार रूपैयाँ जरिवाना गरेको छ।
साइबाबा ग्यास उद्योग कलङ्कीलाई ग्यास वितरणमा सहजीकरण गर्न निर्देशन दिइएको छ। चन्द्र विनायक ग्यास स्टोर चाबहिललाई नियमित रुपमा सरल र सहज रुपमा खाना पकाउने ग्यास वितरण गर्न तथा अनिवार्य रुपमा बिल विजक जारी गर्न निर्देशन दिइएको छ। कोलोनी प्रोडक्सन एन्ड सप्लायर्स र अमन ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
अन्य व्यावसायिक फर्मलाई भने विभागले सुधारात्मक निर्देशक दिइएको छ। फर्महरुको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन,२०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक आवश्यक निर्देशन र कारबाही गरिएको विभागको प्रष्टोक्ति छ। उपभोक्ता अधिकारकर्मी तथा स्थानीय सरोकारवालाको उपस्थितिमा कालाबजारी नियन्त्रणमा विभागले सक्रियताका साथ अनुगमन गर्दै आएको जनाएको छ।







About Us
प्रतिक्रिया