विराटनगर – विराटनगरका प्रमुख उद्योग तथा व्यावसायिक सङ्गठनहरूले देवेनरा ग्रुपको घर तथा व्यावसायिक प्रतिष्ठानमा नेपाल प्रहरीले गरेको छापाप्रति उद्योग व्यवसायी संघ तथा संगठनले संयुक्त रुपमा आपत्ति जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश, मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङका अध्यक्षहरूले संयुक्त रूपमा विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन्।
संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले प्रमाणविहीन सूचनाका आधारमा गरिएको कारबाहीले निजी क्षेत्रको मनोबल कमजोर बनाएको बताएका छन्। संयुक्त विज्ञप्तिअनुसार साउन १८ गते नेपाल प्रहरीले देवेनरा ग्रुपको घर तथा व्यवसायमा करिब पाँच घण्टासम्म छापा मारेको थियो। तर, प्रहरीको आफ्नै प्रेस विज्ञप्तिअनुसार उक्त कारबाहीका क्रममा कुनै गैर कानुनी वस्तु वा प्रमाण फेला नपरेको दाबी गरिएको छ।
व्यावसायिक सङ्गठनहरूले अपुष्ट सूचनाका आधारमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी गरिएको छापाले उद्योगी–व्यवसायीलाई त्रसित बनाएको उल्लेख गरेका छन्। कानुन कार्यान्वयन राज्यको दायित्व भए पनि त्यसक्रममा नागरिकको सम्मान, प्रतिष्ठा, व्यावसायिक निरन्तरता तथा प्राकृतिक न्यायका सिद्धान्तलाई समान रूपमा ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।
विज्ञप्तिमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको बताइरहेका बेला यस्ता घटनाले सरकारको नीति र व्यवहारबीच असन्तुलन देखिएको उल्लेख गरिएको छ। यसले सरकार र निजी क्षेत्रबीचको विश्वासमा असर पार्नुका साथै आर्थिक गतिविधि विस्तार गर्ने सरकारी उद्देश्यमा समेत नकारात्मक प्रभाव पर्ने चेतावनी दिइएको छ।
व्यावसायिक सङ्गठनहरूले छापा तथा अनुसन्धानात्मक कारबाही अघि सूचना संयन्त्रको विश्वसनीयता र प्रमाणिकताको पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन्। अपुष्ट सूचनाका आधारमा गरिने कारबाहीले निर्दोष उद्योगी–व्यवसायीको सामाजिक प्रतिष्ठा, व्यावसायिक साख र मुलुकको अर्थतन्त्रमा समेत प्रतिकूल असर पर्ने भएकाले यस्ता गतिविधिप्रति संवेदनशील हुन उनीहरूले आग्रह गरेका छन्।







About Us
प्रतिक्रिया