हल्लाका कारण ग्यास अभावजस्तो देखियो, आपूर्ति नियमित छ : साल्ट ट्रेडिङ

'भारतको हल्दिया प्लान्टमा आगलागीपछि ओडिसाबाट ग्यास आपूर्ति नियमित बनाइएको छ'


काठमाडौं – बजारमा एलपी ग्यासको अभाव भएको हल्ला फैलिएपछि उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास खरिद गर्न थालेका कारण कृत्रिम अभावजस्तो अवस्था देखिएको भन्दै साल्ट ट्रेडिङ कर्पोरेसनले उपभोक्तालाई नआत्तिन आग्रह गरेको छ। कर्पोरेसनका प्रवक्ता कुमारराज भण्डारीले भारतको हल्दिया प्लान्टमा आगलागी भएपछि आपूर्ति प्रणालीमा केही प्राविधिक परिवर्तन भए पनि नेपालमा ग्यास आपूर्ति नियमित रहेको र उपभोक्ताले आवश्यकता भन्दा बढी भण्डारण नगरे समस्या नहुने बताए।

भण्डारीका अनुसार साल्ट ट्रेडिङले आफ्नो दैनिक उत्पादन तथा आपूर्तिको सम्पूर्ण परिमाण बजारमा पठाइरहेको छ। ‘हामीले उत्पादन गरेर ग्यास थन्क्याउने होइन, जति उत्पादन हुन्छ सबै वितरण गरिरहेका छौं,’ उनले भने। उनका अनुसार अहिले दैनिक करिब ५ हजार ६ सय सिलिन्डर बजारमा पठाइँदै आएको छ भने आपूर्ति अझ बढाउने प्रयास पनि भइरहेको छ ।

उनले पछिल्ला केही दिनयता बजारमा अचानक माग बढेको बताए। नियमित रूपमा ग्यास लिने उपभोक्तासँगै सामान्य अवस्थामा अन्य ब्रान्ड प्रयोग गर्ने उपभोक्तासमेत एकैपटक साल्ट ट्रेडिङको ग्यास लिन आउँदा वितरण केन्द्रमा भीड बढेको उनको भनाइ छ। ‘अप्ठ्यारो पर्दा मात्रै हाम्रो ग्यास लिने उपभोक्तासमेत अहिले एकैपटक आइरहनुभएको छ। सबैलाई ग्यास दिन खोजिरहेका छौं, सकेसम्म कुनै उपभोक्तालाई रित्तो फर्काएका छैनौं,’ उनले भने।

भण्डारीका अनुसार अहिले देखिएको समस्या आपूर्ति रोकिनु नभई हल्लाका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न खोज्नु हो। ‘आफूलाई चाहिनेभन्दा धेरै सिलिन्डर घरमा राख्ने प्रवृत्ति बढेपछि अभावजस्तो देखिएको हो। वास्तवमा ग्यास रोकिएको छैन, पाइपलाइनमा पनि छ, भारतबाट बुलेटमार्फत नियमित आइरहेको छ,’ उनले स्पष्ट पारे।

उनका अनुसार भारतको हल्दिया प्लान्टमा करिब डेढ महिनाअघि आगलागी भएपछि त्यहाँबाट हुने आपूर्ति प्रभावित भएको हो। त्यसपछि नेपालका लागि ग्यास अन्य वैकल्पिक प्लान्ट तथा मार्गबाट ल्याउन थालिएको छ। अहिले अधिकांश ग्यास ओडिशा क्षेत्र हुँदै आउने भएकाले ढुवानी व्यवस्थापनमा केही परिवर्तन भएको भए पनि आपूर्ति भने निरन्तर रहेको उनले बताए।

‘हल्दियाको ठूलो प्लान्टमा आगलागी भएपछि केही प्राविधिक समस्या आएको हो। त्यसैले नेपालका ट्यांकरहरू अर्को मार्ग हुँदै ग्यास लिन गइरहेका छन्। ग्यास आउन बन्द भएको होइन, नियमित आइरहेको छ,’ उनले भने। भण्डारीले अहिलेको अवस्थामा उपभोक्ताले आत्तिएर एकभन्दा बढी सिलिन्डर भण्डारण नगर्न आग्रह गरे। ‘सामान्यतया एउटा सिलिन्डर महिनौंसम्म पुग्छ। अहिले धेरै घरमा इन्डक्सन चुलो पनि प्रयोग भइरहेको छ। त्यसैले आवश्यकता अनुसार मात्रै ग्यास लिनुहोस्। सबैले बढी–बढी भण्डारण गर्न थाले मात्रै कृत्रिम अभाव सिर्जना हुन्छ,’ उनले भने।

उनले सञ्चारमाध्यमलाई पनि सही सूचना प्रवाह गरी उपभोक्तालाई नआत्तिन आग्रह गरे। ‘नेपालमा अहिले विद्युत् पर्याप्त छ। इन्डक्सन चुलोको प्रयोग पनि बढाउन सकिन्छ। उपभोक्ताले आवश्यकता अनुसार मात्रै ग्यास लिए कृत्रिम अभावको अवस्था आउने छैन,’ उनले बताए।