विदेश पठाइदिन्छु भन्दै ९ लाख ठग्ने पवन, सुधिर र लक्ष्मी पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दाङका पवन कुमार केसी (बिक्रम), रौतहटका सुधिर प्रसाद जयसवाल र काभ्रेकी लक्ष्मी खड्का रहेका छन्। 

पक्राउमध्ये पवनले सिंगापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख रुपैयाँ, सुधिरले साईप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ र लक्ष्मीले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रुपैयाँ  ठगी गरेको प्रहरीले जनाएको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पवनलाई काठमाडौं महानगरपालिका–१० बाट, सुधिरलाई काठमाडौं टोखा नगरपालिका–९ बाट र लक्ष्मीलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।