काठमाडौं – रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कबाट भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआइपी) कल बाइपास गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाको चुमनुव्री गाउँपालिका– ४ का छिरिङ गुरुङ रहेका छन्।
उनले बेलहियाको न्यु मुक्ति होटल एण्ड रेष्टुरेन्टको दोस्रो तलामा कोठा भाडा लिई अवैध कल बाइपास गर्ने गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले उनको कोठा खानतलासी गर्दा भीओआइपी कल बाइपास गर्न प्रयोग गरिएका सामान फेला पारेको छ।
प्रहरीले उनको साथबाट सिमकार्डहरु जडान भएको डिभाईस २ थान, वल्र्डलिङ्क राउटर १ थान, वाइफाइ ६ प्लस राउटर १ थान तीन थान विभिन्न कम्पनीका मोबाइल, १२ भोल्टको एसियन कम्पनीको ब्याट्री, एमेज कम्पनीको इन्भर्टर, एउटा मल्टिप्लक र ५६ थान भारतीय सिमकार्ड बरामद भएको छ। साथै, ३८ थान एनसेल सिमकार्डको खोल, एउटा एनटीसी सिमकार्ड, ३ थान आरजे ४५ केवल, ३ थान चाइनिज सिमकार्ड, एउटा टेबल पङ्खा, ११ हजार नेपाली रुपैयाँ, सात हजार भारतीय रुपैयाँ, बागमती प्रदेश ०२–०२७ प ९५९७ नम्बरको स्कुटर, नेपाली नागरिकता, भारतीय निर्वाचन कार्ड र नेपाली सवारी चालक अनुमति पत्र पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
रुपन्देही जिल्ला अदालतबाट दूरसञ्चार ऐन २०५३ को भीओआइपी कल बाइपास सम्बन्धी कसुरमा दिन ५ म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







About Us
प्रतिक्रिया