काठमाडौं – अनलाईन ठगीमा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बारा प्रसौनी गाउँपालिका–१ बस्ने २० वर्षीय जस्मुदिन अन्सारी र पर्सा बहुदरमाई नगरपालिका– १ बस्ने २० वर्षीय बिशाल पटेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगंज महानगरपालिका–८ बाट पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले वीरगंज महानगरपालिका–१६ बस्ने बारा घर भएका ४९ वर्षीय शिव पुजन बैठाको घरमा डेरा गरी बस्ने रौतहट घर भएका पीडित हाल वैदेशिक रोजगारको सिलसिलामा युकेको लण्डनमा रहेकोमा उनको फोटो राखि फेक फेसबुक एकाउण्ट तथा म्यासेन्जर आईडी बनाई शिवपुजनलाई झुक्यानमा पारी नगद २ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ।
उनीहरू उपर ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।






About Us
प्रतिक्रिया