विभिन्न एपबाट दुई करोड बराबरको अनलाइन सट्टेबाजी गर्ने चार जना पक्राउ


काठमाडौं – काठमाडौंका विभिन्न स्थानमा अनलाइन जुवा (सट्टाबाजी) खेल्ने तथा खेलाउने चार जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोटका टेकेन्द्र शाही, बर्दियाका विश्व रेग्मी, अजय महतरा र बाँकेको आदित्य वाल्मीकि रहेका छन्। 

काठमाडौं महानगरपालिका–१ नारायणचौरबाट उनीहरूलाई  नियन्त्रणमा लिइएको हो। उनीहरूको साथबाट ४ थान इन्टरनेट सर्भर, ११४ थान सिमकार्ड, ७ थान ल्यापटप र १० थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरुले एडब्लु ८, खल्ती८८, वान एक्स बेट लगायतका बेटिङ वेबसाइट प्रयोग गरी अनलाइन जुवा खेलाउने गरेका थिए। साथै, उनीहरुले ती वेबसाइटमार्फत करिब १ करोड ९६ लाख  बराबरको कारोबार गरेको प्रहरीले जनाएको छ। 

उनीहरूलाई पक्राउ गरी  सट्टाबाजी गर्न गराउन नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन  म्याद थप  लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।