अनलाइन सट्टेबाजी र क्रिप्टो कारोबारमा संलग्न एक पक्राउ


काठमाडौं – चितवन प्रहरीले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार तथा अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिका नगरपालिका–६, खोले सिमल निवासी ४४ वर्षीय नारायण श्रेष्ठ रहेका छन्। प्रहरीले प्राप्त सूचनाका आधारमा खटिएको टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा श्रेष्ठको साथबाट बरामद गरिएको एउटा मोबाइल फोनमा बेटिङका लागि रकम लोड तथा अनलोड गर्न प्रयोग हुने ‘मोबक्यास’ नामक मोबाइल एप फेला परेको प्रहरीले जनाएको छ। उक्त एपमा रहेको इपीओएस लिमिट खातामा २ लाख ७९ हजार रहेको र खाताको कुल ब्यालेन्स १३ लाख ८२ हजार रहेको खुलेको छ। साथै, सो खाताबाट पछिल्लो तीन महिनामा ३८ लाख ९५ हजार बराबरको कारोबार भएको प्रहरीले जनाएको छ। 

श्रेष्ठको साथबाट बरामद गरिएको अर्को एप्पल कम्पनीको मोबाइल फोनमा ‘बाइनान्स’ एपमार्फत सञ्चालन गरिएको खातामा ३३ हजार १५० अमेरिकी डलर ३३ सेन्ट बराबरको कारोबार भएको फेला परेको छ। हालको विनिमय दरअनुसार उक्त रकमको मूल्य करिब ५० लाख ९८ हजार बराबर रहेको प्रहरीले जनाएको छ। प्रहरीले श्रेष्ठमाथि अभौतिक मुद्रा संचय तथा कारोबार र अनलाईन सट्टेबाजि सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ।