अमेरिकी ब्याजदर थप बढ्ने संकेतपछि घट्न थाल्यो सुनको मूल्य


काठमाडौं – अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले ब्याजदर थप बढाउने निश्चितप्राय देखिएको छ। अमेरिका र इरानबीच मध्यपूर्वमा चर्किएको नयाँ सैन्य द्वन्द्वका कारण इन्धन (तेल) को मूल्य आकाशिएसँगै मुद्रास्फीति (महँगी) थप बढ्ने र त्यसलाई नियन्त्रण गर्न अमेरिकाले ब्याजदर उच्च राख्नुपर्ने बलियो परिस्थिति बनेको रोयटर्सले जानकारी दिएको छ।

अमेरिकी केन्द्रीय बैंकका उच्च अधिकारीहरूले नै अब सार्वजनिक रूपमा ब्याजदर वृद्धिको वकालत गर्न थालेपछि सुनका लगानीकर्ता थप स‌शंकित बनेका छन्। डलास फेडरल रिजर्भकी अध्यक्ष लोरी लोगानले त खुलेआम ब्याजदर बढाउनुपर्ने माग गरेकी छिन्। उपाध्यक्ष फिलिप जेफरसनले पनि महँगी नघटे ब्याजदर बढाउन ढोका खुला रहेको स्पष्ट पारेका छन्। आगामी डिसेम्बर महिनामा अमेरिकाले ब्याजदर बढाउने सम्भावना ७३ प्रतिशत पुगिसकेको छ।

यही ब्याजदर बढ्ने संकेतका कारण शुक्रबार सुनको मूल्य घटेको देखिन्छ। यो साता मात्रै सुनको मूल्य ३.४ प्रतिशतले खस्किएको छ। यो जुन महिनापछिको सबैभन्दा ठूलो गिरावट हो। अन्तर्राष्ट्रिय बजारमा अहिले सुनको मूल्य प्रति औंस ३ हजार ९ सय ८० डलरको आसपासमा झरेको छ। यो जुलाई महिना सुरु भएपछिको सबैभन्दा न्यून विन्दु हो।

ब्याजदर र सुनको मूल्यबीच उल्टो सम्बन्ध हुने भएकाले यो गिरावट आएको बजार विश्लेषकहरूको भनाइ छ। सुन आफैंले कुनै ब्याज वा नियमित प्रतिफल दिँदैन। जब बैंकहरूको ब्याजदर र ऋणपत्रको प्रतिफल बढ्छ, तब लगानीकर्ताहरू सुन बेचेर बढी ब्याज आउने लगानीमा आकर्षित हुन्छन्।

केसीएम ट्रेडका प्रमुख बजार विश्लेषक टिम वाटररले रोयटर्ससँग कुरा गर्दै अमेरिकाको पछिल्लो मुद्रास्फीति तथ्यांक सामान्य आए पनि स्ट्रेट अफ हर्मुजमा भएको तनावका कारण तेलको मूल्य एकै हप्तामा १२ प्रतिशतले बढेपछि ब्याजदर थप बढ्ने पक्का भएको बताए। तेल महँगो हुँदा बजारमा महँगी बढ्ने भएकाले त्यसलाई रोक्न केन्द्रीय बैंकले ब्याजदर बढाउनै पर्ने बाध्यता हुन्छ।