वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मङ्गलवार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-९ बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका ३९ वर्षीय दावा योञ्जन र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने बारा आदर्श कोटवाल गाउँपालिका-४ घर भएका २७ वर्षीय अनिल कुमार यादव रहेका छन्। 

पक्राउमध्ये दावाले सर्विया र युएई पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ११ लाख ४५ हजार रुपैयाँ र अनिलले मलेसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ८७ हजार रुपैयाँ लिई ठगी गरेको थिए। 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।