काठमाडौं – आफूलाई ‘अपराध महाशाखाबाट एसपी दिलिप घिमिरे’ भन्दै परिचय दिई सर्वसाधारणलाई धाकधम्की दिने तथा दुःख–हैरानी दिने आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–६ हात्तीगौँडा बस्दै आएका राजकुमार आलेमगर रहेका छन्।
प्रहरीका अनुसार आलेमगरले आफू प्रहरी अधिकृत भएको भन्दै सर्वसाधारणलाई धम्क्याउने र अनावश्यक दबाब दिने गतिविधि गर्दै आएका थिए। उनलाई नियन्त्रणमा लिएपछि सोधपुछका क्रममा प्रहरी कर्मचारीसँग समेत विवाद गरी सार्वजनिक स्थानमा होहल्ला गर्दै अशान्ति सिर्जना गरेको तथा अभद्र व्यवहार गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाई काठमाडौंस्थित सिंहदरबार अगाडिको सडक खण्डबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया