काठमाडौं – ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका–८ मधुमारा बस्ने ४८ वर्षीय अभिषेक गिरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा सोमबार पक्राउ पुर्जी अनुमति प्राप्त भएपश्चात् केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा गिरीले निर्माण व्यवसायीलाई विभिन्न व्यक्तिहरूसँग चिनजान एवम् पहुँचका आधारमा आयोजनाको ठेक्का पार्ने विश्वास दिलाई परेको ठेक्काको कार्य आफ्नै आर.सि. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालि मार्फत नियमानुसार सम्पन्न गरी दिने आश्वासन दिई सो बमोजिमको कार्य नगरी ठेक्का सम्झौता रद्द भई पीडितलाई हानी नोक्सानी पुर्याएको खुल्न आएको छ।
साथै, गिरीले निर्माणमा प्रयोग हुने सवारी साधनहरू कब्जामा लिई केही सवारी साधनहरू पीडितलाई जानकारी नदिई कवाडीमा बिक्री गरेको तथा अन्य सवारी साधनहरू कब्जामा लिई पीडितलाई डर त्रासमा पारी काठमाडौंस्थित घर जग्गा राजीनामा पास गरी लिएको एवम् पीडितले अन्य व्यक्तिसँग प्राप्त गर्नुपर्ने रकम आफ्नै नाममा चेक काट्न दबाब दिई आर्थिक लाभ प्राप्त गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।






About Us
प्रतिक्रिया