मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ


काठमाडौं – काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुरका राज कुमार परियार, सविन भुलन,  इन्द्र बहादुर वाइबा, काभ्रेपलाञ्चोकका अनिल योञ्जन र रौतहटका पञ्चलाल ब्लोन रहेका छन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजकुमार र सविनलाई काठमाडौं कालिमाटीबाट शुक्रवार तथा इन्द्र बहादुरलाई ललितपुर महानगरपालिका–५ बाट, अनिललाई ललितपुर माहाङ्काल गाउँपालिका–५ र पञ्चलाललाई काठमाडौं कलंकीबाट आइतबार पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ४ थान मोटरसाइकल बरामद गरेको  छ। 

उनीहरूलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कालिमाटी पठाइएको छ।