काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोज कुमार झामाथि भ्रष्ट्राचार मुद्दा दायर गरेको छ। उनीविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवा प्रवेश, बढुवा तथा लाभ–सुविधा लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
उनले १९९८ मा मगध विश्वविद्यालय, बोधगयबाट प्राप्त बीएससी दर्ता नं. ६४–९४, रोल नं. एसएच ३६४३ को मार्क सिट, एमिग्रेसन सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट तथा प्रोभिजनल सर्टिफिकेटलगायतका झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेस गरेको खुल्न आएको छ।
उनले उक्त नक्कली प्रमाणपत्रका आधारमा विसं २०६४ मा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रमुख सहायक (सहायक केमिष्ट) पदमा प्रारम्भिक नियुक्ति लिएका थिए। त्यसपछि सोही प्रमाणपत्रका आधारमा सहायक प्रबन्धक (सातौँ तह) पदमा बढुवा भई ओहोदा, तलब, भत्ता तथा अन्य लाभ–सुविधासमेत प्राप्त गरेको आयोगले जनाएको छ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुरमा सोही दफा अनुसार कैद र जरिवानाको माग गर्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।






About Us
प्रतिक्रिया