काठमाडौं – एआईको प्रयोग गरी नक्कली सवारी चालक अनुमति पत्र तथा राजस्व तिरेको रसिद तयार पारी लिखत सम्बन्धी कसुर गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ५ थली बस्ने वसन्त भुजेल रहेका छन् ।
प्रहरी वृत्त महाराजगञ्ज र ट्राफिक प्रहरी वृत्त महाराजगञ्जबाट संयुक्त रूपमा खटिएको टोलीले आइतबार साँझ काठमाडौं महानगरपालिका–३ महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको गेट नजिक नो पार्किङ क्षेत्रमा पार्किङ गरिएको ग २ च ८५७९ नम्बरको निजी कारलाई सवारी नियम उल्लङ्घन गरेको अभियोगमा कारबाही गर्ने क्रममा चालकको कागजात जाँच गरेको थियो।
जाँचका क्रममा भुजेलले प्रस्तुत गरेको स्मार्ट सवारी चालक अनुमति पत्र र राजस्व तिरेको रसिदको विवरण यातायात व्यवस्था विभाग तथा ट्राफिक भायोलेसन रेकर्ड प्रणालीमा फेला नपरेपछि थप अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा भुजेलको साथबाट थप एक नक्कली सवारी चालक अनुमति पत्रसमेत फेला परेको थियो। प्रारम्भिक अनुसन्धानबाट उनले एआईको प्रयोग गरी नक्कली अनुमति पत्र तयार पारेको खुल्न आएको छ।
लिखत सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप लिई प्रहरी वृत्त महाराजगञ्जले उनीमाथि थप अनुसन्धान गरिरहेको छ।






About Us
प्रतिक्रिया