अमेरिकी राष्ट्रपति ट्रम्पले क्रिप्टो बेचेरै कमाए डेढ अर्ब डलर, नेपालमा कहाँ पुग्यो ‘क्रिप्टो माइनिङ’को लक्ष्य ?


काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेन्सी बेचेरै १.४ अर्ब अमेरिकी डलर आर्जन गरेको तथ्य सार्वजनिक भएको छ। चुनावी अभियानका दौरान अमेरिकालाई क्रिप्टोको राजधानी बनाउने उद्घोष गरेका ट्रम्पले राष्ट्रपति भययता मात्रै डेढ अर्ब अमेरिकी डलरभन्दा बढी नाफा आर्जन गरेका हुन्।

उनले अमेरिकालाई विश्वको क्रिप्टो राजधानी बनाउने उद्घोष गरेका थिए। त्यसबेला बिटक्वाइनको मूल्य प्रतिगोटा १ लाख अमेरिकी डलरसम्म पुगेको थियो। खासगरी, क्रिप्टोकरेन्सीमा अमेरिकी राष्ट्रपतिको परिवारको ठूलो लगानी रहेको बताइन्छ।

जसमध्ये ६३५ मिलियन अमेरिकी डलर आफैले लञ्च गरेको मिम कोइनबाटै आम्दानी गरेका हुन्। यसैगरी, छोराले स्थापना गरेको वल्र्ड लिबर्टी फाइनान्सियलबाट ५०० अमेरिकी डलर आम्दानी गरेको बताइएको छ।

नेपालमा पनि ‘माइनिङ’ लक्ष्य
क्रिप्टो करेन्सी बेचेर छिमेकी राष्ट्र भुटानले ५० करोड अमेरिकी डलर आम्दानी गरेको तथ्य सार्वजनिक भएपछि नेपालमा पनि क्रिप्टोमाथिको प्रतिबन्धको विरोधमा व्यापक चर्चा सुरु भएको थियो। नेपालले खुला कारोबार नीति अवलम्बन नगरेपनि माइनिङ खोल्नुपर्ने माग जोडतोडका साथ उठेको थियो।

लगत्तै नेपाल राष्ट्र बैंकले चालू वर्षको मौद्रिक नीतिमार्फत ‘क्रिप्टो माइनिङ’को सम्भाव्यता अध्ययन गर्नेगरी नीतिगत व्यवस्था गरेको थियो। तर त्यसबारे थप अध्ययन र अनुसन्धान भने भइरहेको छैन।

क्रिप्टो माइनिङका लागि उल्लेख्य विद्युत चाहिने भएकाले नेपाल त्यसका लागि उर्वर भूमि बन्न सक्ने बताइन्छ। किनकी, नेपालमा आगामी १० वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य राखिएको छ। उत्पादित विद्युत भारत निर्यातसँगै क्रिप्टो माइनिङमा प्रयोग गर्न सकिने सम्भावनाहरु छन्।

यतिबेला नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको पूर्वसन्ध्यामा छ। सोहीक्रममा क्रिप्टो माइनिङ सम्बन्धी थप नीतिगत व्यवस्था आउन सक्ने अड्कल भइरहेको छ।