एआईमा भइरहेको अत्याधिक लगानी विश्व अर्थतन्त्रको नयाँ चुनौती


स्विट्जरल्याण्ड – विश्वका केन्द्रीय बैंकहरूको केन्द्रीय बैंक मानिने संस्था ‘बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स’ (बीआईएस)ले विश्व वित्तीय प्रणालीमा नयाँ र जटिल चुनौतीहरू देखा पर्न थालेको बताएको छ। बीआईएसका महाप्रबन्धक पाब्लो हर्नान्डेज डे कोसले आर्टिफिसियल इन्टेलिजेन्समा भइरहेको अत्याधिक लगानी, विश्वव्यापी सार्वजनिक ऋणको भार र गैर–बैंकिङ्ग वित्तीय संस्थाहरूका कारण वित्तीय क्षेत्रमा नयाँ जोखिम बढ्न थालेको बताएका हुन्।

९६औँ वार्षिक साधारण सभाको अवसरमा ‘वार्षिक आर्थिक प्रतिवेदन २०२६’ सार्वजनिक गर्दै बीआईएसले विश्व अर्थतन्त्रमा र वित्तीय क्षेत्रमा नयाँ चूनौती देखिन थालेको जनाएको हो।

एआईको लहर

प्रतिवेदनका अनुसार, सन् २०२५ मा विश्व अर्थतन्त्रले सोचेभन्दा बलियो लचकता देखाउनुको मुख्य कारण एआई क्षेत्रमा भएको तीव्र लगानी र प्रविधिगत उत्साह थियो। यसले विशेष गरी एसियाली देशहरूको निर्यात र विश्व शेयर बजारलाई ठूलो उचाइ दियो।

तर, बीआईएसले यस उत्साहका पछाडि अत्याधिक लगानीको ठूलो जोखिम रहेको स्पष्ट पारेको छ। बजार हिस्सा कब्जा गर्ने होडबाजीमा कम्पनीहरूले अत्यधिक ऋण लिएर एआईमा लगानी गरिरहेका छन्। यदि एआईले सोचे अनुरूपको उत्पादकत्व र प्रतिफल दिन सकेन भने यो लगानीको चक्र ठप्प हुन सक्छ। जसले विश्वव्यापी कर्पोरेट क्षेत्र र उपभोक्ता खर्चमा गम्भीर मन्दी ल्याउन सक्ने चेतावनी दिइएको छ।

‘फिस्कल–फाइनान्सियल स्टेबिलिटी नेक्सस’

यस वर्षको प्रतिवेदनले सार्वभौम ऋण र वित्तीय स्थायित्वबीचको खतरनाक सम्बन्धलाई विशेष रूपमा उजागर गरेको छ। जसलाई बीआईएसले ‘फिस्कल-फाइनान्सियल स्टेबिलिटी नेक्सस’को नाम दिएको छ।

विगतको तुलनामा अहिले परम्परागत वाणिज्य बैंकहरू सुरक्षित र व्यवस्थित भए तापनि वित्तीय जोखिमहरू अब ‘गैर–बैंकिङ्ग वित्तीय मध्यस्थकर्ताहरू’ (हेज फन्ड)तर्फ सरेका छन्। हाल विभिन्न देशका सरकारहरूको सार्वजनिक ऋणको ठूलो हिस्सा यस्ता अत्यधिक ऋण लिएर चल्ने गैर-बैंकिङ्ग संस्थाहरूले धानिरहेका छन्।

बजारमा सामान्य हलचल आउनासाथ यी संस्थाहरूले सरकारी ऋणपत्र बजारमा ठूलो उतारचढाव ल्याउन सक्छन्। यस्तो अवस्थामा बजारलाई बचाउन केन्द्रीय बैंकहरूले बारम्बार हस्तक्षेप गर्नुपर्ने बाध्यता आउँछ।

नीति निर्माताहरूलाई बीआईएसको तीन बुँदे सुझाव

विश्वव्यापी आर्थिक सन्तुलन कायम राख्न बीआईएसले नीति निर्माताहरूलाई तुरुन्तै कदम चाल्न आग्रह गर्दै तीनवटा मुख्य सुझावहरू दिएको छ। मूल्य स्थायित्वलाई पहिलो प्राथमिकतामा राख्दै केन्द्रीय बैंकहरूले अल्पकालीन आर्थिक वृद्धिलाई थाती राखेर भए पनि मुद्रास्फीति ९महँगी० नियन्त्रण र मूल्य स्थायित्वलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बीआईएसको सुझाव छ।

यस्तै, सरकारहरूले रेकर्डस्तरमा पुगेको सार्वजनिक ऋण र बढ्दो घाटा बजेटलाई नियन्त्रण गर्न ठोस र लक्षित वित्तीय योजनाहरू तुरुन्तै लागू गर्नुपर्ने र सन् २००८ को विश्वव्यापी वित्तीय संकटपछि बैंकहरूलाई कडा नियमन गरिए झैँ अब हेज फन्ड र अन्य गैर–बैंकिङ वित्तीय संस्थाहरूलाई पनि विश्वव्यापी रूपमा कडा नियमनको दायरामा ल्याउन आवश्यक भइसकेको छ।