काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिमका सन्देश चौधरी, भगवत प्रसाद थारू, चितवनकी सरस्वती बारघरे र काठमाडौंका विकास दाहाल रहेका छन्।
पक्राउ मध्ये सन्देशले मकाउ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रुपैयाँ, भगवतले पोल्यान्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट २३ लाख रुपैयाँ, सरस्वतीले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रुपैयाँ र विकासले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ९२ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्देशलाई काठमाडौं महानगरपालिका– बाट, भगवतलाई काठमाडौं महानगरपालिका–४ बाट, सरस्वतीलाई ललितपुर महानगरपालिका–२६ बाट र विकासलाई काठमाडौं महानगरपालिका– ६ बाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।






About Us
प्रतिक्रिया