बर्दियाबाट २ लाख ६७ हजार बराबरको अवैध मोबाइल प्रहरीको नियन्त्रणमा 


काठमाडौं – बर्दियाबाट २ लाख ६७ हजार बराबरको अवैध मोबाइल प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरी टोलीले उक्त मोबाइल बरामद गरेको हो। 

बर्दियाको बढैयाताल गाउँपालिका– २ फुटाहा चोकस्थित भारतको सीमा नाका नजिक केही अपरिचित व्यक्तिहरूको समूहले साइकलमा ६ वटा बोरा ल्याउँदै गरेको प्रहरीले देख्नासाथ सोही स्थानमा ६ वटा बोरा, सामान छाडी उनीहरू भागेका थिए। 

प्रहरीले उक्त बोरा चेकजाँच गर्दा उक्त बोराबाट लाभा (मोडेल– ए३ टर्च किप्याड मोबाइल ५४) थान र  लाभा (मोडेल– ए७ टर्च) किप्याड मोबाइल ४३२ थान गरी जम्मा २२ लाख ६७ हजार बराबरको  ९७२ थान मोबाइल नियन्त्रणमा लिएको हो। उक्त अवैध मोबाइल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय, गुलरिया, बर्दियामा बुझाएको प्रहरीले जनाएको छ।