काठमाडौं – आफूलाई ई–सेवाको कर्मचारी भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा रौतहट जिल्लाको साविक खेसरहिया गाविस–१ जन्मस्थान भई हाल माधवनारायण नगरपालिका–२ बस्ने २२ वर्षीय शुभम साह रहेका छन्।
प्रहरीका अनुसार साहले आफू ई–सेवाबाट बोलेको भन्दै “तपाईंको ई–सेवामा धेरै रिवार्ड पोइन्ट रहेको छ, किन प्रयोग नगर्नुभएको रु” भन्दै ९७७–९७६३५७१८१२ नम्बरबाट पटक–पटक फोन गर्ने गरेका थिए। उनले याक एण्ड कम्पनी इन्टरप्राइजेजको मोबाइल नम्बर ९८०२०३४३२३ मा सम्पर्क गरी ई–सेवा चेक गर्न लगाउँदा प्राप्त भएको ओटिपी प्रयोग गरेर१ लाख ९८ हजार ४ सय ९९ रकम इभोलुसन ट्रेडिङ प्रालिको ई–सेवा आईडीमा स्थानान्तरण गरेका थिए।
प्रहरीका अनुसार उक्त रकमबाट इभोलुसन ट्रेडिङ मार्फत आइफोन समेत खरिद गरिएको पाइएको छ। प्रहरीले साहको साथबाट ४ वटा मोबाइल फोन, ४ वटा सिमकार्ड तथा ठगीका लागि प्रयोग गरिएका १५३ जना व्यक्तिहरूको ई–सेवा आईडीसँग सम्बन्धित मोबाइल नम्बरहरूको विवरण समेत बरामद गरिएको छ। साथै, साह यसअघि पनि यस्तै प्रकृतिका दुई वटा ठगी मुद्दामा संलग्न भई अदालतबाट धरौटीमा रिहा भएको खुलेको छ।
उनीविरुद्ध विद्युतीय माध्यमसम्बन्धी ठगी अपराध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया