विश्वकप हेर्ने नाममा साइबर ठगी बढ्दो, शंकास्पद एप डाउनलोड नगर्न प्रहरीको आग्रह


काठमाडौं – पछिल्लो समय सामाजिक सञ्जालका तथा अनलाइनका विभिन्न माध्यमहरूमा विश्वकप २०२६ हेर्न सकिने भन्दै भन्दै एन्ड्रोइड इन्स्टलर एडिएस फाइल डाउनलोड तथा इन्स्टल गर्न लगाई साइबर ठगी गर्ने गतिविधि बढ्दै गएको छ।  यस्ता एप्लिकेसनहरूले विभिन्न प्रकारका अनुमति माग्ने र प्रयोगकर्तालाई ती अनुमति स्वीकृत गर्न प्रेरित गर्ने गरेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ। 


ब्यूरोका अनुसार यस्ता एप्लिकेसनमार्फत मोबाइल बैंकिङ्ग सम्बन्धी संवेदनशील जानकारी चोरी गरी बैंकिङ्ग एप ह्याक गर्ने तथा आर्थिक ठगी गर्ने घटनामा वृद्धि भइरहेको छ। ब्युरोले सर्वसाधारण प्रयोगकर्तालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रयोगकर्ताहरूलाई अनावश्यक तथा अविश्वसनीय स्रोतबाट प्राप्त एप्लिकेसनहरू डाउनलोड तथा इन्स्टल नगर्न ब्युरो आग्रह गरेको छ। विशेषगरी ब्युरोले एपिके इएसइ, बिएटि एसएच जस्ता फाइलहरू डाउनलोड नगर्नु अनुरोध गरेको छ।त्यसैगरी बैंक तथा वित्तीय संस्थाको आधिकारिक सूचना तथा निर्देशनका आधारमा मात्र  बैंकिङ्ग प्रणाली तथा एप्लिकेसनहरू अद्यावधिक गर्न समेत ब्युरोले सुझाव दिएको छ।