काठमाडौं – नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन सम्हालिरहेको कर्णाली विकास बैंकको स्थलगत वस्तुस्थिति चुनौतीपूर्ण बन्दै छ। बैंकको व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाका अनुसार बैंकमा कर्जा नतिर्ने नियत बोकेका ऋणीको घुसपैठका कारण कर्मचारीहरूको सुरक्षा र कार्य वातावरण खस्किएको छ।
पछिल्लो समय बैंकको रिकभरी र व्यवस्थापन प्रक्रिया चुस्त बनाउन खोज्दा कर्मचारीहरूमाथि ज्यान मार्ने धम्की आएको संयोजक खतिवडाले दाबी गरेका छन्। संयोजक खतिवडाका अनुसार बैंकले केही समयअघि वित्तीय सुधार सम्बन्धी एक विज्ञापन/सूचना निकाल्नुभन्दा केही दिन अगाडि शाखाहरूमा ३० देखि ३५ जनाको एउटा स्थानीय समूह आएर आतंक सिर्जना गरेको थियो। उक्त समूहले बैंकका कर्मचारीहरूलाई सामूहिक राजीनामा दिन अल्टिमेटम दिँदै व्यवस्थापन समूहलाई समेत कालो मोसो दल्ने र हातपात गर्ने धम्की दिएको थियो।
‘जहाँ भेट्यो त्यहीँ गोली हालिहाल्छौँ भन्नेसम्मका अवाञ्छित धम्कीहरू आएका छन्,’ खतिवडाले भने, ‘कर्मचारीहरू अफिसमै बस्न नसक्ने र रिकभरीमा जानै नसक्ने वातावरण बनेपछि हामीले सुरक्षा र कार्य वातावरण माग गर्दै आन्तरिक कदम चालेका हौँ।’
पैसा डुबेर आक्रोशित बनेका सर्वसाधारण निक्षेपकर्ताको आन्दोलनलाई बैंकले सामान्य रूपमा लिए पनि यो घटना भने ऋण तिर्न नपरोस् भन्ने नियतका साथ घुसपैठ गराइएको समूहको भएको बैंकको निष्कर्ष छ। हाल यस विषयमा प्रहरी प्रशासनलाई अनौपचारिक रूपमा जानकारी गराइएको र थप पेनिक स्थिति सिर्जना नहोस् भनी सिसिटिभी फुटेज लगायतका प्राविधिक पाटोबाट सूक्ष्म अध्ययन भइरहेको उनले बताए।
जोखिमका बीच पनि व्यवस्थापन समूहले बैंकको वित्तीय सुधारमा केही महत्त्वपूर्ण उपलब्धि हासिल गरेको तथ्याङ्कले देखाउँछ। सुरुमा करिब १ हजार जना रहेका ऋणीहरूको संख्यालाई द्रुत गतिमा घटाएर हाल ५ सय ५६ जनामा झारिएको छ। बैंकले हालसम्म ५७ करोड रुपैयाँ कर्जा असुली गरिसकेको छ भने ४८ करोड रुपैयाँ निक्षेप फिर्ता गरिसकेको छ।
बैंकको विस्तृत मूल्याङ्कन रिपोर्ट अनुसार हाल २ अरब ३० करोड रुपैयाँ बराबरको दायित्व ऋणमा जस्तो देखिएको छ। सम्पूर्ण सम्पत्तिहरू शतप्रतिशत उठाउँदा पनि दायित्व र सम्पत्तिबीच करिब २०० करोड रुपैयाँभन्दा बढीको ग्याप (खाडल) देखिने निश्चित भएको छ। संयोजक खतिवडाका अनुसार यो ठुलो वित्तीय ग्यापलाई ‘डिपोजिट इन्स्युरेन्स’ (निक्षेप बीमा) ले समेत कभर गर्न सक्ने स्थिति छैन। जसका कारण निक्षेपकर्ताहरूको केही रकम अझै पनि जोखिममै रहेको देखिन्छ।
‘सामान्यतया नेपाल राष्ट्र बैंक जस्तोसुकै समस्याग्रस्त संस्थालाई पनि बचाउनुपर्छ भन्ने परम्परागत मान्यता राख्दैन,’ उनले भने, ‘तर कर्णाली विकास बैंकको केसमा सर्वसाधारणको निक्षेप र ठुलो वित्तीय समस्या जोडिएकाले यसलाई जसरी भए पनि ब्युँताउने र निक्षेपकर्ताको हित संरक्षण गर्ने विशेष मनसायका साथ राष्ट्र बैंकले काम गरिरहेको छ।’
समस्याग्रस्त अवस्थामा खर्च कटौती गर्न बैंकले ठुलो संख्यामा कर्मचारी कटौती समेत गरेको छ। सुरुमा १६२ जना कर्मचारी कार्यरत रहेकोमा हाल त्यसलाई घटाएर ६० जनामा सीमित गरिएको छ। हाल बाँकी रहेका कर्मचारीहरूलाई लोन रिकभरी, दैनिक डिपार्टमेन्ट अपरेसन, निक्षेप व्यवस्थापन, आइटी र सेक्युरिटी क्षेत्रमा परिचालन गरिएको व्यवस्थापन समूहले जनाएको छ। कुन लोन कहाँ छ र ऋणी को हो भन्ने नै पत्ता नलाग्ने भएकाले जस्तोसुकै धम्की आएपनि व्यवस्थापन समूह कर्मचारीहरूको मनोबल उच्च राख्दै संस्था सुधारको बाटोबाट पछि नहट्ने अडानमा दृढ देखिएको छ।
बैंकको उच्च व्यवस्थापनले घोटाला गर्दा डुबेको कर्णाली विकास बैंकलाई यतिबेला नेपाल राष्ट्र बैंकले टेकओभर गरेको छ। २०८२ सालको असारदेखि राष्ट्र बैंकले यस्को व्यवस्थापनको जिम्मा लिएर ४८ करोड रुपैयाँ फिर्ता गरिसकेको छ। बैंक डुबेपछि सम्पन्न लेखा परीक्षण प्रतिवेदनअनुसार ४ अर्ब ३० करोड रुपैयाँ दायित्व बैंकमाथि छ।





About Us
प्रतिक्रिया