वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३२ लाख ३० हजार ठगी गर्ने चार जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुरका श्याम चौलागाई, पाँचथरका सुजन घतानी विक, बाँकेका यामराज खत्री र दाङका सरद कुमाई रहेका छन्। 

पक्राउमध्ये श्यामले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ४० हजार रुपैयाँ, सुजनले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ८ लाख ४० हजार रुपैयाँ, यामराजले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रुपैयाँ र सरदले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख ठगी गरेको प्रहरीले जनाएको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले श्याम र सुजनलाई ललितपुरको ललितपुर महानगरपालिका–१५ बाट, यामराजलाई काठमाडौं महानगरपालिका–१६ बाट र सरदलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।