बैंकिङ्ग डिस्कोर्श २०२६

‘पुँजी बजारको विश्वसनीयता नियामक निकायहरूको प्रयासले मात्रै कायम रहँदैन’


बैंकिङ्ग डिस्कोर्शले बैंकिङ्ग क्षेत्रसँग मात्रै सम्बन्धित छैन। बैंकिङ्ग क्षेत्र अर्थतन्त्रको एउटा हिस्सा मात्र नभई सम्पूर्ण आर्थिक गतिविधिको एउटा हिस्सा हो। त्यसैले डिस्कोर्शको विषयवस्तु बैंकिङ्ग क्षेत्रमा मात्र सीमित छैन। यहाँ उठाइने विषयहरू लगानी, रोजगारी, उद्यमशीलता, पुँजी बजार, डिजिटल अर्थतन्त्र, वित्तीय पहुँच तथा समग्र आर्थिक विकाससँग प्रत्यक्ष सरोकार रूपमा जोडिएका हुन्छन्। यस अर्थमा हामी यसलाई बैंकिङ्ग डिस्कोर्श मात्र नभई आर्थिक डिस्कोर्शका रूपमा पनि हेर्न सक्छौँ।

नेपाल आज आर्थिक रूपान्तरणको यात्रामा छ । हामी डिजिटल अर्थतन्त्रतर्फ अघि बढिरहेका छौँ। लगानी वृद्धि, उत्पादन विस्तार, रोजगारी सिर्जना तथा उद्यमशीलता विकासका लागि प्रयासरत छौँ। यस्तो समयमा यस्ता डिस्कोर्शकाे महत्त्व झन् बढेर जान्छ। वास्तवमा कुनै एक संस्था एक निकायसँग सबै उत्तरहरू हुँदैनन्। तर, बैंक तथा वित्तीय संस्था, पुँजी बजार र यसमा आबद्ध संस्थाहरू एउटा मञ्चमा आउँछन्। तब सामूहिक छलफल र बहसबाट समाधानका नयाँ ढोकाहरू खुल्न थाल्छन्।

आज विश्व तीव्र गतिमा विकसित भइरहेको छ। आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल करेन्सी, साइबर सुरक्षा, डेटा सेन्टर लगायतका विषयले वित्तीय क्षेत्रको स्वरूप नै परिवर्तन गरिरहेका छन्। हामी पनि समयअनुसार परिवर्तन हुन आवश्यक छ। यस्ता परिवर्तनहरूको सामना गर्न ज्ञान र अनुभव मात्र पर्याप्त नहुन सक्छ। निरन्तर सिकाई, संवाद, छलफल तथा बहस पनि उत्तिकै आवश्यक हुन्छ। त्यसैले यस्ता कार्यक्रमहरू वर्तमानको समीक्षा गर्दै भविष्यको तयारी गर्न पनि अत्यन्त उपयोगी हुन्छन्।

यस अवसरमा सूचिकृत कम्पनीका पदाधिकारीसँग विशेष अनुरोध गर्दछु। व्यक्तिगततर्फ ७८ लाख ४१ हजार ४२० डिम्याट खाता सञ्चालनमा छन्। संस्थागततर्फ ८ हजार ९९१ डिम्याट खातासहित मार्केट क्यापिटलाइजेशन करिब ५० खर्ब भएको पुँजी बजारको विश्वसनीयता कायम राख्न सूचिकृत कम्पनीको ठुलो भूमिका हुनेछ। पुँजी बजारको विश्वसनीयता केबल नियामक निकायहरूको प्रयासले मात्रै कायम रहँदैन। सूचिकृत कम्पनीको पारदर्शिता, सुशासन, समयमा नै सूचना प्रवाह तथा नियामकीय अनुपालनाबाट नै लगानीकर्ताको विश्वास सुदृढ बन्छ । त्यसैले, नेपाल स्टक एक्सचेन्जबाट जारी भएको निर्देशन, सर्कुलरहरूको पूर्ण पालना गर्दै पुँजी बजारमा आफ्नो योगदान राख्न समेत आग्रह गर्दछु।

लगानीकर्ताको विश्वास नै पुँजीबजारको सबैभन्दा ठुलो सम्पत्ति हो। हामी सबैको साझा प्रयासबाट मात्र बजारलाई पारदर्शी, उत्तरदायी बनाउन सकिन्छ।

(बैंकिङ्ग डिस्कोर्शको उद्घाटन सत्रमा नेप्सेका सीईओ चापागाईँले राखेको मन्तव्यबाट)