बीमा रकम हत्याउन आफ्नै पसलमा चोरीको नाटक, सञ्चालक र कामदार पक्राउ


काठमाडौं – रुपन्देहीको बुटवल उपमहनगपालिका– ४ अमरपथस्थित तिनाउ सुनचाँदी पसल चोरी भएको नाटक गर्ने पसल सञ्चालक र कामदार पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपन्देहीका दीपक बिक र नविन बिक रहेका छन्। 

उनीहरूले १७ गते बिहान १० बजे पसल चोरी भयो भनी प्रहरीमा उजुरी दिएका थिए। उनीहरूले पसलको सटरमा लगाएको साँचो समेत तोडी पसलमा रहेको सेफ खोली सेफमा रहेको १ करोड ४६ लाख ९४ हजार बरावरको सुनचाँदीका गरगहनाहरू चोरी भएको उजुरी गरेका थिए।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय लुम्बिनी, जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा पसल सञ्चालक दीपक र सोही पसलमा काम गर्ने नविनले योजनाबद्ध रूपमा चोरीको नाटक गरेको खुलेको प्रहरीले बताएको छ। 

प्रहरीले दीपकको घरबाट ५ तोला ४.१ लाल तौलको सुनका गरगहना, १४ केजी ३०० ग्राम बराबरको चाँदीको सिक्का, दाना र ढिक्का समेत बरामद गरिएको छ। उनीहरूले पसलको बीमा दाबी गर्न र अन्य ग्राहकले पसलमा धितोमा राख्न दिएको सुन र पैसा फिर्ता गर्न नपर्ने सोचले चाेरीकाे नाटक गरेकाे प्रहरीले जनाएकाे छ।