दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध चार वटा कसुरमा मुद्दा दर्ता गर्ने तयारी


काठमाडौं – व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल लगायतविरुद्ध बीमा कसुर, धितोपत्र कसुर, सम्पत्ति शुद्धीकरण तथा बैंकिङ्ग कसुर सम्बन्धी चार वटा अभियोगमा मुद्दा दर्ता गर्ने तयारी भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्ट र अग्रवालसँग सम्बन्धित विभिन्न आर्थिक तथा वित्तीय अनियमितताका विषयमा अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएका छन्। दुवै निकायले छुट्टाछुट्टै रूपमा अनुसन्धान गरी अनुसन्धान प्रतिवेदन बुझाएका हुन्।

सीआईबीले भट्ट र अग्रवालको बीमासम्बन्धी कसुर, बैंकिङ्ग कसुर र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरका अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको सीआईबीले जनाएको छ। अब उक्त प्रतिवेदनको अध्ययन गरी सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गर्ने प्रक्रिया अगाडि बढाउनेछ। 

उता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धान प्रतिवेदन विशेष सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान सकेर प्रतिवेदन विशेष सरकारी वकिल कार्यालयमा बुझाइसकेको कार्यालयका प्रवक्ता पूर्णेन्द्र पाण्डेयले जानकारी दिए। 

विभागबाट प्राप्त अनुसन्धान प्रतिवेदनमाथि अभियोजनको प्रक्रिया अघि बढिरहेको उनले बताए। उनले भने, अभियोजनलाई प्रभावकारी र प्रमाणमा आधारित बनाउन विशेष टोलीसमेत गठन गरिएको छ।’ उक्त टोलीले अनुसन्धान प्रतिवेदनको अध्ययन, प्रमाणको परीक्षण तथा अदालतमा पेश गरिने अभियोग पत्रको तयारी गरिरहेको उनले बताए।

सीआईबीले हिमालयन रि–इन्स्योरेन्ससहितका बीमा कम्पनी भएको चार अर्ब बढी घोटाला प्रकरणमा बीमासम्बन्धी कसुरमा ४० जना बीमा क्षेत्रका पदाधिकारीहरूलाई प्रतिवादी बनाउँदै अनुसन्धान प्रतिवेदन बुझाएको छ। उक्त अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला अदालतमा दायर हुने तयारीमा रहेका छ। 

सीआईबीले बीमासम्बन्धी कसुरमा हिमालयन रि–इन्स्योरेन्सको सीईओ उपासना पौडेल, आशिष श्रेष्ठ, शेखर गोल्छा, सुभाष बहादुर श्रेष्ठ, दीपक भट्ट, शुलभ अग्रवाल, मृगेन्द्र नाथ रिमाल, सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, सुनिता श्रेष्ठ, अनुप मालाकार, बद्री सिग्देल, प्रविना दाहाल, सुजल मल्ल, अमित मोर, शाहिल अग्रवाल, रोहित गुप्ता, राजीव मोर, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला, मनिष कुमार, दीपक कुमार श्रेष्ठ, सिताराम वाग्ले, आकांक्षा गुप्ता, शिशिर गैह्रे, रितेश प्रधान, कपिल कुमार दाहाल,  राजन प्रसाद अधिकारी, विदुर पुरी, बिनु घिमिरे, नारायण कुमार अधिकारी, उत्सव प्रधानाङ्ग, शुमेर शम्शेर जवरा, सुभाष पौडेल, शालिनी संघई, प्रतिक जोशी,सन्दिप चाचन अग्रवाल, शुभी अग्रवाल, ऋषिराज मोर र राज बहादुर शाहलाई प्रतिवादी बनाएको छ।

Skip This