काठमाडौं – फिफा विश्वकप २०२६ मा बैंक अफ अमेरिका बैंकिङ्ग पार्टनरकारुपमा जोडिएको छ। अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्तरुपमा आयोजना हुन गइरहेको विश्वकपमा बैंकिङ्ग पार्टनरकारुपमा ‘बैंक अफ अमेरिका’ आधिकारिक साझेदारको रूपमा जोडिएको हो।
फिफाको इतिहासमा पहिलो पटक कुनै पनि बैंकलाई यसरी विश्वव्यापी रूपमा मुख्य बैंकिङ्ग साझेदार बनाइएको हो। जसले गर्दा यो साझेदारीलाई विश्व खेलकुद बजारमा निकै चासोका साथ हेरिएको छ। खेलकुद बजारका विज्ञहरूका अनुसार बैंक अफ अमेरिकाले फिफाको दोस्रो तहको आधिकारिक स्पोन्सर बन्नका लागि मात्रै ६५ मिलियन देखि १०० मिलियन अमेरिकी डलर खर्च गरेको छ।
नेपाली रुपैयाँमा यो करिब ८ अर्ब ६० करोड देखि १३ अर्ब ३० करोड रुपैयाँ बराबर हुन आउँछ। फिफाले विगतका संस्करणहरूमा विभिन्न देशका क्षेत्रीय वित्तीय संस्थाहरूसँग मात्र सहकार्य गर्ने गरेकोमा यस पटक उत्तर अमेरिकाको आकर्षक बजारलाई लक्षित गर्दै बैंक अफ अमेरिकासँग यो मेगा सम्झौता गरेको हो।
यो मोटो लगानी २०२६ को एउटा विश्वकप चक्रको बजार व्यवस्थापन, रङ्गशाला भित्रको ब्राण्डिङ र विशेष प्रचार अधिकारका लागि मात्र खर्च गरिएको हो। प्रतियोगितामा सहभागी टोली संख्या ३२ बाट बढेर ४८ पुगेको छ भने कुल खेल संख्या पनि ६४ बाट बढेर १०४ पुगेको छ। खेल र रंगशालाको संख्या बढेसँगै मैदानमा आउने दर्शक र विश्वभरका टिभी उपभोक्ताको सङ्ख्या निकै ठुलो हुने निश्चित छ।
यही विशाल बजार र करोडौँ नयाँ ग्राहकहरूलाई आफ्नो च्यानलमा आकर्षित गर्नका लागि बैंक अफ अमेरिकाले यो ठुलो रणनीतिक र आर्थिक कदम चालेको हो। यस ऐतिहासिक साझेदारीमार्फत बैंक अफ अमेरिकाले उत्तर अमेरिकाभर रहेका आफ्ना करोडौँ नियमित ग्राहकहरूलाई विश्वकपको टिकट बुकिङमा विशेष प्राथमिकता, डिजिटल वित्तीय कारोबारमा क्यासब्याक र फ्यान जोनहरूमा विशेष बैंकिङ्ग पहुँच प्रदान गर्ने रणनीति बनाएको छ।
यसका साथै बैंकले व्यापारिक फाइदा मात्र नलिई स्थानीय स्तरमा भुइँसतहको फुटबल विकासका लागि फिफासँग मिलेर विभिन्न युवा प्रशिक्षण कार्यक्रमहरू पनि सञ्चालन गर्ने योजना बनाएको छ। व्यावसायिक खेलकुदको क्षेत्रमा बैंक अफ अमेरिकाले चालेको यो कदमले फुटबललाई वित्तीय ब्रान्डिङ गर्ने सबैभन्दा शक्तिशाली माध्यमको रूपमा स्थापित गरिदिएको छ।







About Us
प्रतिक्रिया