रसुवाबाट  १९ लाख ५२ हजार नगदसहित हुण्डी कारोबारी पक्राउ


काठमाडौं – रसुवा प्रहरीले १९ लाख ५२ हजार नगदसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रसुवाको गोसाईकुण्ड गाउँपालिका–३ का  मिङमार छिरिङ गुरुङ रहेका छन्। 

गोसाईकुण्ड गाउँपालिका–६ धुन्चे बजारस्थित अस्थायी प्रहरी पोष्ट धुन्चेबाट खटिएको प्रहरी टोलीले पासाङ ल्हामु राजमार्गमा सवारी साधन तथा यात्रुहरूको नियमित जाँच गर्ने क्रममा स्याफ्रुवेशीबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो गाडी रोकी जाँच गर्दा गाडीमा सवार गुरुङले बोकेको झोलाभित्र ठूलो परिमाणमा नगद फेला परेको प्रहरीले बताएको छ। 

बरामद रकममध्ये १ हजार दरका १ हजार ८ सय ४५ थान नोट बराबर १८ लाख ४५ हजार रुपैयाँ, ५ सय दरका २ सय १३ थान नोट बराबर १ लाख ६ हजार ५ सय रुपैयाँ तथा १ सय दरका ६ थान नोट बराबर ६ सय रुपैयाँ रहेको छ। 

प्रहरीले उक्त रकमसहित गुरुङलाई नियन्त्रणमा लिई हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। रसुवा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।