काठमाडौं – एलन मस्क विश्वकै पहिलो खर्बपति (ट्रिलियन डलर सम्पत्तिको मालिक) बन्ने तयारीमा छन्। उनी मानव व्यावसायिक इतिहासमै पहिलो खर्बपति बन्दैछन्। टेस्लाको सीईओ भूमिकाका कारण मस्कसँग अहिले नै २७३ अर्ब डलरको सम्पत्ति छ। तर, यदि योजनाअनुसार उनको रकेट तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ‘स्पेसएक्स’ को प्रारम्भिक शेयर निष्कासन (आईपीओ) अर्को हप्ता जारी भयो भने चाँडै नै उनको सम्पत्तिमा थप ८४१ अर्ब डलर जोडिन सक्छ। स्पेसएक्समा मस्कको झण्डै आधा शेयर रहनेछ । आईपीओको कुल मूल्य १.७७ ट्रिलियन डलर अनुमान गरिएको छ।
मस्कको यो सम्पत्ति कागजी (शेयर बजारको मूल्याङ्कन) मात्र हो, कुनै बैंकमा थुपारिएको नगद होइन। यो सबै लगानीकर्ताहरूले उनका कम्पनीहरू टेस्ला र स्पेसएक्सलाई कसरी मूल्याङ्कन गरिरहेका छन् भन्ने कुरामा निर्भर गर्छ। एक ट्रिलियन डलर भनेको एक मिलियन मिलियन डलर हो। यति ठूलो रकम कुनै पनि मानिसले आफ्नो एक जीवनकालमा उचित प्रयोजनका लागि खर्च गर्न असम्भव प्रायः हुन्छ। यदि कसैले हरेक दिन प्रतिघण्टा १० लाख डलरका दरले खर्च गर्ने हो भने पनि १ ट्रिलियन डलर सिध्याउन एक शताब्दीभन्दा बढी समय लाग्नेछ।
अधिकांश देशको अर्थतन्त्रभन्दा बढी
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार विश्वका २० वटा देशको मात्र अर्थतन्त्र १.१ ट्रिलियन डलरभन्दा ठूलो छ। यसको अर्थ विश्वका अधिकांश देशको कुल अर्थतन्त्र मस्कको अनुमानित सम्पत्तिभन्दा कम छ। मस्कको सम्भावित सम्पत्ति ताइवान (९७७ अर्ब डलर), आयरल्याण्ड (७७९ अर्ब डलर), स्वीडेन (७६० अर्ब डलर) र सिंगापुर (६६० अर्ब डलर) जस्ता देशको कुल अर्थतन्त्रभन्दा पनि बढी हुने देखिन्छ।
मस्कको लगानी पोर्टफोलियोभन्दा साना अर्थतन्त्रहरू फेला पार्न अन्त गइरहनु नै पर्दैन। अमेरिकी कर्पोरेट जगत् र वाल स्ट्रिटको केन्द्र मानिने म्यानहट्टन टापुको सन् २०२४ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ ट्रिलियन डलरभन्दा केही बढी मात्र थियो। यो फेडेरल रिजर्भको तथ्यांक हो। स्पेसएक्सले आईपीओ प्रक्रिया पूरा गरेपछि मस्कको नेटवर्थ योभन्दा बढी हुन सक्छ।
न्यूयोर्क र लस एन्जलसपछि ह्युस्टन अमेरिकाको तेस्रो ठूलो सहर हो। खाडी तटमा अवस्थित यो टेक्सासको सहर संयुक्त राज्य अमेरिकाको उकालो लाग्दो तेल र ग्यास उद्योगको प्रमुख केन्द्र हो। हालैको तथ्याङ्क अनुसार यस सहरको आवासीय र व्यावसायिक दुवै गरेर सम्पूर्ण सम्पत्तिको कुल मूल्य ८७९ अर्ब डलर छ, जुन मस्कको अनुमानित नेटवर्थभन्दा कम हो।
घर जग्गापछि कार र ट्रक नै अधिकांश अमेरिकीहरूले गर्ने सबैभन्दा ठूलो खर्च हो। गत वर्ष अमेरिकामा बिक्री भएका नयाँ कारको औसत मूल्य ४८ हजार ४ सय २ डलरको कीर्तिमानी विन्दुमा थियो। अमेरिकीहरूले सन् २०२५ मा कुल १ करोड ६३ लाख नयाँ कारहरू किनेका थिए, जसको कुल लागत ७८९ अर्ब डलर हुन आउँछ। गत वर्ष अमेरिकाभरि बिक्री भएका यी सबै नयाँ गाडीको खरिद मूल्य पनि एलन मस्कको नेटवर्थभन्दा कम छ।
अर्बपतिहरूका लागि खेलकुद टोली (स्पोर्ट्स टिम) किन्नु एउटा महँगो सौख हो। तर, १ ट्रिलियन डलरले विश्वका लगभग सबै प्रमुख खेल टोलीहरू किन्न सकिन्छ। खेल टोलीहरूको मूल्याङ्कन ट्र्याक गर्ने फोर्ब्सका अनुसार विश्वका सबैभन्दा मूल्यवान् ५० वटा खेल टोलीहरूको कुल मूल्य जोड्दा पनि मस्कको सम्पत्तिको एक तिहाइ मात्र अर्थात् करिब ३५३ अर्ब डलर हुन आउँछ। यसमा १३ अर्ब डलर मूल्याङ्कन गरिएको एनएफएलको सबैभन्दा महँगो टोली डलास काउब्वाइजदेखि ५०औँ स्थानमा रहेको एनबीएको टोरन्टो र्याप्टर्स (करिब ५ अर्ब डलर) सम्म समेटिएका छन्।
(सीएनएनमा प्रकाशित सामग्रीको भावानुवाद)






About Us
प्रतिक्रिया