रुकुम पश्चिम –रुकुम पश्चिममा वडाध्यक्षसहित छ जनालाई जुवाको खालबाट पक्राउ गरिएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाँठासहित छ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्ने अन्यमा मुसिकोट नगरपालिका ११ का ४८ वर्षीय कमल पुन, त्रिवेणी गाउँपालिका ५ का ४४ वर्षीय डिल्लीबहादुर घर्ती, सोही ठाउँका ३० वर्षीय शिव विवश घर्ती मगर, ५३ वर्षीय नन्दकुमार घर्ती मगर र त्रिवेणी २ का ४० वर्षीय मनबहादुर बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।
त्रिवेणी गाउँपालिका–४ लामाखेतस्थित विमलबहादुर खड्काको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी निरीक्षक पुनले जानकारी दिए। प्रहरीचौकी सिम्रुतबाट प्रहरी निरीक्षक हेमन्त गिरीको नेतृत्वमा छ जनाको प्रहरी टोली खटिएको थियो।
उनीहरूको साथबाट १ लाख ६७ हजार १०५ रूपैयाँसहित एक गड्डी खोलेको र एक गड्डी नखोलेको ताससमेत बरामद गरिएको उनले बताए। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







About Us
प्रतिक्रिया