वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ९ जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बर्दियाका राजेश क्षेत्री,मकवानपुरका तिर्थमान भोलन, नुवाकोटका गोवर्धन नेपाली, गोरखाका रोशन बाबु मल्ल, नुवाकोटका उपेन्द्र तामाङ, सुनसरीका उज्वल थापा मगर, बर्दियाका प्रकाश सिंखडा, लमजुङकी ज्योती गुरूङ र  पाल्पाका राजिव न्यौपाने रहेका छन्। 

पक्राउमध्ये राजेशले मौरिसस र सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितहरूबाट १ करोड ४१ लाख ५१ हजार रूपैयाँ, तिर्थमान र गोवर्धनले सेसेल्स पठाइदिन्छु भन्दै ३१ जना पीडितहरूबाट १ करोड ४१ लाख ५१ हजार रूपैयाँ, रोशनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ, उपेन्द्रले मौरिसर पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, उज्वलले  क्यानडा पठादिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५७ हजार रूपैयाँ, प्रकाशले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, ज्योतीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ र राजिवले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ  ठगी गरेको प्रहरीले जनाएको छ। 

पक्राउ मध्ये राजेश, तिर्थमान र गोवर्धनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने रोशन, उपेन्द्र, उज्वल, प्रकाश, ज्योती र राजिवलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।