सुनको सिक्री लुटपाटमा संलग्न ४ जना पक्राउ, ७५ हजार र स्कुटर बरामद 


काठमाडौं – सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धादिङका २० वर्षीय एनोस तामाङ र २६ वर्षीय हेमन्त तामाङ, नुवाकोटका १९ वर्षीय लाक्पा तामाङ र भारतका ५० वर्षीय सुकुमार पात्र रहेका छन्। 

तारकेश्वर नगरपालिका – ८ जरङ्खुमा गत ११ गते स्कुटरमा आएका अपरिचित व्यक्तिहरूले एक पीडित महिलाको सुनको सिक्री लुटपाट गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो।

साथै, प्रहरीले उनीहरूको साथबाट नगद ७५ हजार ८ सय रुपैयाँ र स्कुटर १ थान समेत बरामद गरेको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।