गुडिरहेको बसभित्रै युवतीको सुनको सिक्री लुट्ने चार जना पक्राउ


काठमाडौं – कोटेश्वर हुँदै बल्खु जाँदै गरेको बसभित्र नै एक जना युवतीको घाटीमा लगाएको सुनको सिक्री लुट्ने चार जनालाई प्रहरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका जनक तामाङ, साईमन भन्ने मन कुमार तामाङ, ललितपुरका उमेश मुक्तान र  काभ्रेपलाञ्चोकका अर्जुन तामाङ  रहेका छन्। 

प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरी टोलीले सानेपा स्थित रिङरोड सडक खण्डमा उक्त बस रोकी बसमा सवार यात्रीहरूको खानतलासी गर्दा लुटिएको सुनको सिक्रीसहित उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले १ तोला ९ लालको लुटपाट भएको सुनको सिक्री  बरामद गरेको छ। 

उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर ललितपुरमा राखी चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, उनीहरूको अभिलेख हेर्दा योभन्दा अगाडी समेत चोरी मुद्दामा संलग्न रहेको पाइएको छ।