प्रहरीले बुझायो चोरेरै घर र जग्गा किनेका थारुमाथिको अनुसन्धान प्रतिवेदन 


काठमाडौं – गत माघमा बौद्धबाट पक्राउ परेका प्रेम थारुमाथिको अनुसन्धान पुरा गरेर प्रहरीले प्रतिवेदन जिल्ला अदालत काठमाडौंमा बुझाएको छ। प्रहरीले थारुमाथि  चोरी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा कारबाही गर्न माग गर्दै अभियोग पत्र दायर गरेको हो। 

अभियोगपत्रका अनुसार, उनले चोरी गरेको रकमबाट नै २ कट्टा जग्गा किनेर तीन तले घर बनाएका छन्, भने एक करोड रुपैयाँ बराबरको टोयोटा हिलक्स गाडी किनेको अभियोगमा उल्लेख गरिएको छ। साथै, उनको बाँकेको चटारमा ४० लाखको जग्गा, बाँकेको बैजापुरमा रहेको जग्गा र घरहरू पनि चोरीकै धनमालबाट आर्जन गरेको बताइएको छ।

अभियोगपत्र अनुसार उनको नाममा विभिन्न बैंक खातामा ठुलो रकम मौज्दात रहेको पाइएको छ। एभरेष्ट बैंक, नबिल बैंक तथा अन्य बैंक खातामा करोडौँ रुपैयाँ बराबरको कारोबार तथा बचत भेटिएको बताइएको छ। प्रहरीले मोबाइल, बैंक चेक बुक, विभिन्न विदेशी मुद्राहरू पनि उनको घरबाट बरामद भएको छ। 

बयानका क्रममा उनले लामो समयदेखि काठमाडौंका विभिन्न क्षेत्रमा घर फोडेर सुन–चाँदी तथा नगद चोरी गर्दै आएको र त्यसलाई व्यवस्थित रूपमा बिक्री वितरण गर्दै आएको स्वीकार गरेका छन्। थारुको नाममा विभिन्न बैंक खातामा उल्लेखनीय कारोबार देखिएको छ। एभेरेष्ट बैंक बानेश्वर शाखामा करिब २ करोड ६१ लाख रुपैयाँभन्दा बढी कारोबार हुनुको साथै हाल मौज्दात १६ लाखभन्दा बढी रहेको देखिएको छ।

त्यस्तै, नबिल बैंक र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका खातामा समेत रकम फेला परेको बताइएको छ। प्रहरीले उनलाई चोरी  सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ अन्तर्गतको काठमाडौं सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गरेको छ।