काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई बिजनेस स्टार्टअप भिसामा क्यानडा रोजगारीको लागि लैजाने भन्दै प्रतिव्यक्ति ८० हजार अमेरिकन डलर लागत लाग्ने भन्दै ठग्नी गर्ने दुइ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको पन्जाबका अमित कुमार र हरियाणाका राहुल कुमार रहेका छन्।
उनीहरूले आफ्नो विभिन्न देशहरूमा कार्यालय रहेको भनी पीडितहरूलाई विश्वास दिलाई बिजनेस स्टार्टअप भिसामा पठाइदिन्छु भन्दै ८० हजार अमेरिकन डलर लिने र सो पश्चात् विभिन्न बहानामा पटक–पटक रकम असुल्ने गरेको खुल्न आएको छ। उनीहरूले हालसम्म सम्पर्कमा आएका ४ जना पीडितहरूसँग १ करोड ५७ लाख ठगी गरेको प्रहरीले जनाएको छ।
डाक्टर र नर्स पेसामा आबद्ध व्यक्तिहरू समेतलाई प्रत्यक्ष पिआर भिसा मिलाइदिने भनी रोजगारी तथा अन्य प्रलोभनमा पारी क्यानडा पठाएकोमा वर्क परमिटमा उल्लेखित अस्पताल नै नभेटिएकोले पीडितहरू फर्केर आएको खुल्न आएको छ। उनीहरूले नेपाली नागरिकको नाममा कार्यालय दर्ता गरे तापनि कार्यालय प्रमुख सहित अधिकांश कर्मचारी भारतीय नागरिक राखी दर्तावाला सञ्चालक समेत भारतमा बसी कार्यालय सञ्चालन गरेको प्रहरीले बताएको छ।
उनीहरूलाई काठमाडौं महानगरपालिका– ११ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर पठाइएको छ।






About Us
प्रतिक्रिया