वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ८१ लाख ठगी गर्ने चार जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका–६ घर भएका ३७ वर्षीय नारायण जोशी, सुर्खेत बराहाताल गाउँपालिका–२ घर भएका ४३ वर्षीय गोपाल बिक्रम राना, भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ घर भएका ३२ वर्षीय नवराज पौड्याल र मनाङ नासोँ गाउँपालिका–६ घर भएका ५८ वर्षीय ङवाङ लामा रहेका छन्। 

पक्राउमध्ये नारायणले कतार पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ४८ लाख रुपैयाँ, गोपालले इराक पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २० लाख रुपैयाँ, नवराजले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ र ङवाङले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नारायणलाई धनुषा जनकपुरधाम उपमहानगरपालिका–४ बाट, गोपाललाई काठमाडौं महानगरपालिका–१२ टेकुबाट , नवराजलाई काठमाडौं पुतली सडकबाट र ङवाङलाई काठमाडौं नागार्जुन नगरपालिका–८ बाट पक्राउ गरेको हो।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको ।