भिसाको दुरूपयोग गरी व्यवसाय सञ्चालन गर्ने जापानी नागरिक अध्यागमनको नियन्त्रणमा


काठमाडौं – भिसाको उद्देश्यविपरीत नेपालमा बसी शङ्कास्पद क्रियाकलापमा संलग्न एक जापानी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। उनी सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए। नेपालमा अनुमति नलिई छ वर्षसम्म गैरकानुनी रुपमा व्यवसाय सञ्चालन गरेको र स्थानीय तहमा व्यवसाय दर्ता गरे पनि सरकारलाई बुझाउनुपर्ने कर तिरेको नदेखिएको विभागले जनाएको छ।

नेपाली महिलासँग विवाह गरेका नेपाली भाषा प्रष्टसँग बोल्न सक्ने जापानी नागरिक, निजले पोखरा लेखनाथ महानगरपालिकामा व्यवसाय दर्ता गरी पुम्दी पभुम्दीमा पिस अफ माइन्ड रेष्टुरेण्ट क्याफे सञ्चालन गरेका थिए। सम्बन्धित सरकारी कार्यालयमा व्यवसाय स्थानान्तरणसम्बन्धी प्रक्रिया पूरा नगरी विगत चार वर्षदेख ललितपुरको झम्सिखेलमासमेत कफी सप सञ्चालन गरिरहेका थिए।

उक्त कफी सप दर्ताविना सञ्चालन गरिरहेको विभागले जनाएको छ। नेपालमा पर्यटक भिसामा बसेको विदेशी नागरिकले विदेशी लगानी स्वीकृत गरी व्यवसाय सञ्चालन गर्न व्यावसायिक भिसा लिएको हुनुपर्ने वा काम गर्ने भएमा ‘वर्किङ’ भिसा लिएको हुनुपर्छ।भिसाको उद्देश्यविपरीत क्रियाकलापमा संलग्न बसेका विदेशीलाई महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र अवधि तोकी वा नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी निष्काशन गर्ने कानुनी व्यवस्था छ।

नेपालमा भिसाको उद्देश्य विपरित बसेका वा शंकास्पद गतिविधिमा संलग्न निज विदेशी नागरिकलाई अनुसन्धान गरी कानुनबमोजिम कारबाही गरिने जनाइएको छ। विभागले उक्त नागरिकको नाम भने खुलाएको छैन।