‘बैंकिङ्ग क्षेत्रको सबैभन्दा ठुलो समस्या भनेको खराब कर्जा नै हो’


काठमाडौं – बैंकिङ्ग क्षेत्र जसरी देखिएको छ। बुझिएको छ त्योभन्दा भिन्दै किसिमले चलिरहेको छ। घट्दो प्रतिफल र समग्र अर्थतन्त्रमा आएको समस्याले गर्दा बैंकको मात्र नभई अन्य क्षेत्र पनि दबाबमा छ। त्यस्तै, दबाब बैंकिङ्ग क्षेत्रले पनि बोकिरहेको तथ्याङ्कले नै देखाउँछ। देशमा नयाँ किसिमको राजनीतिक माहौल परिवर्तन भएको छ। मलाई लाग्छ। यसले हौसला नेपाली जनतालाई दिएको छ। यसमा सुशासनसहितको आर्थिक विकासको आकांक्षा युवा पीढीले देखाएको छ। त्यो अपरिहार्य पनि छ। यो कुनै माग र डिमान्ड होइन। सुशासन भनेको निरन्तर धारामा पानी आए जसरी नै सहज किसिमले नेपाली जनताले पाउन सक्नुपर्छ। सुशासन सबै क्षेत्रलाई महत्त्वपूर्ण छ। राजनीतिक क्षेत्रलाई मात्र नभई बैंकिङ्ग क्षेत्र, निजी क्षेत्र सबैले सुशासनको दायराभित्र बसेर नै देशको विकासमा आफ्नो योगदान दिन सक्छ। 

हामीले सुशासनमा केन्द्रित काम गर्नुपर्दछ। त्यसका साथै आर्थिक विकासमा नै जोड दिनुपर्छ। हामीहरू आज सामान्य जागिरको लागि पनि बिदेसिनु पर्ने अवस्था छ। हामी राम्रो शिक्षाको लागि, जागिरको लागि पनि विदेश जानुपर्ने अवस्था छ । करिब ८ लाख मानिसहरू वार्षिक रूपमा घर छोड्न बाध्य छन्। जसकारण हामीले यस अवस्थालाई नयाँ परिस्थितिमा कसरी चिर्ने भन्ने नै सबैभन्दा ठुलो चिन्तनको विषय हुनुपर्दछ। यसमा गर्नुपर्ने के भन्दा सबैभन्दा पहिलो र आधारभूत कुरा भनेको हरेक व्यक्तिको आम्दानीको स्रोत सुनिश्चित हुनुपर्‍यो। त्यो भनेको केबल रोजगारी सिर्जना अथवा व्यापार गर्नका लागि एउटा माहौल र हामीले त्यसअनुरूप परिस्थिति सिर्जना गर्नुपर्ने हुन्छ। 

बिदेसिएकाहरूलाई फर्काउने पछिको कुरा हो तर जान लागेकाहरूलाई रोक्ने तर्फ पनि ध्यान दिने हो भने हामीले रोजगारी सिर्जना र उद्यमशीलता विकासमा सरकारको पहिलो प्राथमिकता हुनुपर्दछ। सरकारको नीति तथा कार्यक्रम नै पनि आइसकेको अवस्था छ। यसमा ५ देखि ७ वर्षभित्र १०० अर्ब डलरको अर्थतन्त्र पुर्‍याउने लक्ष्य छ। 

त्यसको लागि बैकिङ्ग क्षेत्रमा केही सुधारहरू आवश्यक छ। हाम्रो जिडिपी ६८ ६९ को हाराहारीमा छ। ५ देखि ७ वर्षमा १०० खर्ब डलरको अर्थतन्त्र पुर्याउनलाई वार्षिक १२ खर्ब जीडीपी ग्रोथ आवश्यक पर्छ। जीडीपीको ग्रोथको लागि लगानी ग्रोथको आवश्यक पर्छ। जीडीपी यत्तिकै ग्रोथ हुन सक्दैन त्यसका लागि लगानी आवश्यक पर्छ।

यसमा आन्तरिक र बाह्य दुवै लगानी हुन सक्छ। यसका लागि लगानीको वातावरण बनाउनुपर्छ। लगानीको वातावरण बनाउन आन्तरिक लगानीकर्ताको मनोबल बढाएर जानुपर्छ। निजी क्षेत्र मौन अवस्थामा रहनु हुँदैन निजी क्षेत्र लगानीका लागि उत्सुक र हतारिने अवस्थामा हुनुपर्छ। किनभने लगानी आएर त्यसको प्रतिफल पाउन धेरै समय प्रतीक्षा गर्नुपर्ने हुन्छ। आजको भोलि नै रिटर्न आउन सक्दैन । स्वदेशी लगानीकर्तामा उत्साह छ भने मात्रै विदेशी लगानीकर्ता आउन सक्छन्। स्वदेशी लगानीकर्तामा उत्साह छैन भने विदेशी लगानीकर्ता पनि आउन सक्दैनन्। 

कुनै एउटा हाइड्रोमा लगानी गर्दा २० प्रतिशत निजी लगानीकर्ताले हाल्छ भने बैंकले ८० प्रतिशत लगानी गर्छ। त्यसरी हामीले नेपालमा ३ हजार ३५०० मेगावाटको हाराहारीमा हाइड्रो उत्पादन गरिरहेका छौं। छोटो समयमा नै हाइड्रोमा यतिका लगानी नै जुटाउन निजी क्षेत्रको पनि महत्त्वपूर्ण योगदान रहेको छ। ४६ अर्ब डलरको अर्थतन्त्रबाट १०० अर्ब डलरको अर्थतन्त्र पुर्याउन वार्षिक १२ प्रतिशतको ग्रोथको आवश्यक पर्दछ। 

त्यसका लागि निजी क्षेत्र र बैंकिङ्ग क्षेत्र दुवैले लगानी गर्नुपर्छ। बैंकिङ्ग क्षेत्रमा डिपोजिटहरू आइरहेको छ। यस्तो अवस्थामा लगानी बढाउन सक्ने अवस्था सिर्जना गर्नुपर्छ। बैंकिङ्ग क्षेत्रको कुरा गर्दा बैंकिङ्ग क्षेत्रमा अहिले ठुलो समस्या छ। बैंकिङ्ग क्षेत्रको सबैभन्दा ठुलो समस्या भनेको खराब कर्जा नै हो। खराब कर्जा जम्मा हुनुमा बैंकको मात्रै गल्ती छैन र ऋणको मात्रै गल्ती छैन। आन्तरिक परिस्थिति बाह्य परिस्थिति र नीतिगत व्यवस्थाका कारण पनि खराब कर्जा बढिरहेको छ। बैंकिङ्ग क्षेत्रमा अहिले करिब ७०० अर्ब बढी लगानी आइसकेको छ। तर, ६०/६५ अर्बको नन बैंकिङ्ग एसेट र ३०० अर्ब जति खराब कर्जामा अड्किएको छ।

(सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले पत्रकार भेटघाटमा राखेको मन्तव्यमा आधारित)