भारतले नकिन्ने घोषणा गरेपछि विश्व बजारमा घट्न थाल्यो सुनको मूल्य, प्रतिऔंस ४५ सय डलरमा झर्यो


एजेन्सी – भारतले आगामी १ वर्षसम्म सुन नकिन्न सर्वसाधारणलाई आह्वान गरेपछि विश्व बजारमा सुनको मूल्य घटेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना देशवासीलाई आगामी १ वर्षसम्म सुन नकिन्न आह्वान गरेका थिए। यससँगै, विश्व बजारमा सुनको मूल्यमा नकारात्मक प्रभाव देखिएको हो।

तर, यो नकारात्मक प्रभाव स्थिर रहनेमा भने संका छ। यद्यपि, बढ्दो सुनको मूल्यका कारण आफ्नो विदेशी मुद्राको सञ्चितिमा चाप परेपछि सुनको भन्सार मूल्य नै बढाएको छ। भन्सार मूल्य ९ प्रतिशतले बढाउँदै १५ प्रतिशत पुर्‍याएको छ।

भारतले सुन आयातमा ६ प्रतिशत लिँदै आएको थियो। भारत संसारका ठुला सुन खरिदकर्ताहरूमध्येको तेस्रो स्थानमा पर्छ। अझै भारतका सर्वसाधारण संसारकै सबैभन्दा धेरै सुन खरिद गर्ने सर्वसाधारणको पहिलो नम्बरमा पर्छन्।

विश्वभरका केन्द्रीय बैंकले सुन भण्डारण बढाउँदै लगेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढेको छ। डेढ वर्ष अघिसम्म प्रतिऔंन्स २ हजार डलरभन्दा तल रहेको सुनको मूल्य ५ हजार डलरसम्म नाघेको थियो। भारतले सुन आयातमा कडाइ गरेपछि विश्व बजारमा माग घट्ने र यसको प्रभाव मूल्यमा पर्ने भारतीय अर्थशास्त्रीहरुको आँकलन छ।