काठमाडौं – काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूमाथि प्रहरीले कडाइ गर्दै पछिल्लो २४ घण्टामा ठूलो संख्यामा कारबाही गरेको छ। यस क्रममा हजारौँ सवारी चालकलाई कारबाही गर्दा उल्लेखनीय राजस्व पनि संकलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २४ घण्टाभित्र १ हजार ९६२ जना नियम उल्लङ्घनकर्तामाथि कारबाही गरिएको छ, जसबाट करिब ८ लाख ८९ हजार रुपैयाँ राजस्व उठाइएको छ।
कारबाहीमा परेकामध्ये सबैभन्दा धेरै ९०५ जना विभिन्न सामान्य ट्राफिक नियम उल्लङ्घन गर्ने रहेका छन्। त्यसैगरी मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०२ जना, राइड सेयरिङ नियम उल्लङ्घन गर्ने १४७ जना तथा रातो बत्ती नमान्ने २११ जना चालकलाई कारबाही गरिएको छ।
त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १९७, लेन मिच्ने ५३, फुटपाथ अतिक्रमण गर्ने ८८, ‘नो हर्न’ क्षेत्र उल्लङ्घन गर्ने ११६ र एकतर्फी सडकमा सवारी प्रवेश गराउने १४३ जना पनि कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीका अनुसार बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ र नियमको बेवास्ताले दुर्घटनाको जोखिम बढ्दै गएको छ। यही अवस्थालाई नियन्त्रणमा लिन नियमित चेकिङ र विशेष अभियान सञ्चालन गरिएको जनाइएको छ।
प्रहरी उपरीक्षक नरेशराज सुवेदीले ट्राफिक कारबाहीको उद्देश्य राजस्व उठाउनु मात्र नभई सडक सुरक्षामा सुधार ल्याउनु रहेको स्पष्ट पारे। उनका अनुसार अझै पनि धेरै चालकले आधारभूत नियम पालना नगर्ने गरेकाले निगरानी थप कडा बनाइएको छ।
मापसे, तीव्र गति, मोबाइल प्रयोग गर्दै सवारी चलाउने तथा ट्राफिक सिग्नल उल्लङ्घन गर्ने गतिविधि दुर्घटनाका मुख्य कारण भएकाले यस्ता व्यवहार नियन्त्रणमा विशेष ध्यान दिइएको छ।
उपत्यकामा दैनिक सवारी साधनको अत्यधिक चापका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। यस्तो अवस्थामा नियम पालनामार्फत मात्र सुरक्षित यात्रा सम्भव हुने भन्दै प्रहरीले चालकहरूलाई हेल्मेट, सिटबेल्ट प्रयोग गर्न र ट्राफिक संकेतको पालना गर्न आग्रह गरेको छ।
साथै, आगामी दिनमा पनि विशेष ट्राफिक चेकिङ अभियानलाई निरन्तरता दिइने ट्राफिक प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया