नक्कली गहना धितो राखी ठगी गर्ने तीन जना पक्राउ


काठमाडौं- नक्कली गहना धितो राखी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने ४५ वर्षीया मिना कुमारी सुनुवार, भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने दोलखा वैतेश्वर गाउँपालिका-१ घर भएका ३८ वर्षीय कालीदास धतानी र भक्तपुर नगरपलिका-८ बस्ने झापा अर्जुनधारा नगरपालिका-३ घर भएका २७ वर्षीय अजित विश्वकर्मा रहेका छन्। 

ललितपुरका एक सुनचाँदी व्यवसायीलाई आमा बिरामी भएकाले उपचारको लागि पैसा आवश्यक परेको बाहाना पारी नक्कली सुन धितो राखेर ५ लाख रुपैयाँ ऋण लिएका थिए। उनीहरूले नक्कली सुनको नक्कली बिल बिजक समेत बनाएर पसलेलाई विश्वास दिलाएका थिए।

साथै, प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीको जस्तो देखिने विभिन्न गरगहना  समेत बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।