काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि ३० दिन भित्र व्यवसाय दर्ता गर्ने नीति लिएको छ। व्यवसाय दर्ता गर्न आउने व्यवसायीको दर्ता प्रक्रिया ३० दिनभित्रै सक्ने गरी ‘लगानी एक्सप्रेस’ नीति लागू गर्ने भएको हो।
यस्तै, यही नीतिअनुसार निर्माण अनुमति समेत ३० दिन भित्रै दिने उद्घोष सरकारले गरेको छ। आगामी आर्थिक वर्ष २०८३\८४ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो उद्घोष गरेका हुन्।
यस्तै, सरकारले विदेशी लगानी सम्बन्धी कानून संशोधन गर्ने भएको छ। कानून संशोधन गरेर विदेशी लगानी ल्याउने प्रक्रियालाई स्वचालित बनाउने लक्ष्य सरकारले लिएको हो। यसबाहेक, नेपाल सरकारले नेपालमा ठूला विदेशी लगानी ल्याउने लगानीकर्तालाई छुट्टै भिसा दिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलका अनुसार ती लगानीकर्तालाई ‘नेपाल लगानी भिसा’को व्यवस्था गरिनेछ।
यसबाहेक, विशेष आर्थिक क्षेत्रको विस्तार, औद्योगिक ग्रामको विस्तार, ग्रीन मार्केट भिलेज, कृषि उत्पादन केन्द्र लगायत नवप्रबर्तनमा आधारित औद्योगिक क्षेत्रको विकास गर्ने नीति सरकारले लिएको छ। स्टार्टअप पोर्टलमार्फत एकै दिनमा कम्पनी दर्ता गर्ने लक्ष्य समेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्व सरकारले लिएको छ।






About Us
प्रतिक्रिया