विद्युत् प्राधिकरणको कञ्चनपुर वितरण प्रमुखमाथि भ्रष्टाचार मुद्दा दायर 


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर, वितरण केन्द्र, सप्तरीका प्रमुख महेन्द्र कुमार दासमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

उनले चार्जिङ्ग स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले  नियन्त्रणमा लिइएको थियो। दासलाई सेवाग्राहीसँग १ लाख ४० हजार घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो। उनले सेवाग्राहीसँग घुस रकमको लागि बार्गेनिङ्ग गरी, नदिएमा लाइन काटिदिने धम्की दिई घुस लिने गरेका थिए। 

उनलाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो १ लाख ४० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना सजाय हुन माग दाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।