ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दर्ता


काठमाडौं – ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अगावै डकुमेन्ट परिवर्तन हुने ई–बिडिङ प्रकरणमा २२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा काठमाडौंमा २२ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

मुद्दा दायर भएका प्रतिवादीहरूमा शहरी तथा भवन निर्माण आयोजना धनकुटा शाखामा कार्यरत कम्युटर अपरेटर ३३ वर्षीय दिवाकर देउजा, बझाङको दुर्गाथली गाउँपालिका–३ का २५ वर्षीय भरत धामी, तनहुँको बन्दीपुर घर भएका थुम्का निर्माण सेवा प्रालिका सञ्चालक ३९ वर्षीय सञ्जय भट्ट, कटुवाल कन्स्ट्रक्शन र शिवओम सप्लायर्सका सञ्चालक ४० वर्षीय सागर कटुवाल,  काठमाडौंका ३५ वर्षीय भाष्कर कटुवाल छन्।

त्यसैगरी गीताञ्जली कन्स्ट्रक्सन दुवहीका सञ्चालक ६२ वर्षीय जीवनकुमार दास, शिभांश निर्माण सेवाका सञ्चालक ३९ वर्षीय अनिल श्रेष्ठ, भिसान कन्स्ट्रक्सनका सञ्चालक ६४ वर्षीय टंककुमार श्रेष्ठ, चपुर निर्माण सेवाका सञ्चालक ३२ वर्षीय अमृत बोहोरा, कालिका कन्स्ट्रक्सनका सञ्चालक ७४ वर्षीय विक्रम पाण्डे, आइकोन प्रालिका सञ्चालक ३० वर्षीय स्वदेश पोखरेल छन्।

कल्पवृक्ष विल्डर्सका सञ्चालक प्रकाश ढुंगाना, आशिष निर्माण सेवाका सञ्चालक ऋषिकेश गौली, केबीके कन्स्ट्रक्सनका सञ्चालक राहुलजंग कार्की, मान कन्स्ट्रक्सनका सञ्चालक नारायणप्रसाद सिटिखु, रेमिट इन्फास्ट्रक्चरका सञ्चालक इन्द्रबहादुर बोहोरा, एसके कन्स्ट्रक्सनका सञ्चालक शान्तकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर भएको छ।

दक्षिणकाली अल ओभरका सञ्चालक निरञ्जन खनाल, नन्दी कन्स्ट्रक्सनका कृष्णबहादुर खत्री, आशिष निर्माणका प्रोक्युरमेन्ट ज्योति सुवेदी, चपुर निर्माण र कल्पवृक्षका सञ्चालक सरोज दाहाल र राइजिङ पिकका सञ्चालक सुजन अधिकारीविरुद्ध मुद्दा दायर भएको छ।

प्रहरीले यो प्रकरणलाई साइबर अपराध मात्र नभई ‘डिजिटल माध्यमबाट गरिएको संगठित आर्थिक अपराध’का रूपमा व्याख्या गरेको छ। आरोपितहरूमाथि विद्युतीय प्रणालीमा अनधिकृत पहुँच, संगठित अपराध तथा क्रिप्टो कारोबारसम्बन्धी कसुर पनि लगाएकाे छ।