दक्षिण कोरिया र मकाउ पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ 


काठमाडौं – दक्षिण कोरिया र मकाउ पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथरका  श्रीहाङ एकतिन र स्याङ्जाकी नमुना भण्डारी रहेका छन्। 

उनीहरूले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि दक्षिण कोरिया र मकाउ पठाइदिन्छु भन्दै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, पक्राउ पर्ने मध्येमा एकतिनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै  १२ लाख २५ हजार र भण्डारीले मकाउ पठाइदिन्छु भन्दै  ३ जना बाट ५ लाख ५० हजार ठगी गरेका थिए। 

उनीहरूलाई काठमाडौंका उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।