झापा – चालु आर्थिक वर्ष २०८२–८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार यो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइलालगायत वस्तु आयात भएका छन्। पेट्रोलियम पदार्थ आयातबाट चालु आवको नौ महिनामा सात अर्ब ४४ करोड ७८ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए।
कार्यालयको तथ्याङ्कअनुसार यो अवधिमा सात अर्ब ७५ करोड ९४ लाख रुपैयाँ मूल्यबराबरको ८३ हजार ४ सय ४८ किलोलिटर पेट्रोल आयात भएको छ। त्यसैगरी, पाँच अर्ब ८७ करोड १८ लाख रुपैयाँ मूल्यबराबरको ५५ हजार २४ किलोलिटर डिजेल आयात भएको छ।
त्यसैगरी, एक अर्ब ९० करोड ५९ लाख रुपैयाँ मूल्यबराबरको १९ हजार १३६.६९३ मेट्रिक टन एलपी ग्यास, ५७ करोड ५१ लाख रुपैयाँ मूल्यबराबरको पाँच हजार ९ सय ८८ किलोलिटर एटीएफ तथा ७० करोड १२ लाख रुपैयाँ मूल्यबराबरको ३४ हजार ५२४.४९० मेट्रिक टन कोइला आयात भएको सूचना अधिकारी हुमागाईँले बताए।



About Us
प्रतिक्रिया