काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीका लागि गठन गरिएको बजेट लेखन टिमलाई पूर्णता दिएको छ। दुई सदस्य सहसचिवको सरुवापछि रिक्त बनेको स्थानमा सहसचिव अमृत लम्साललाई सदस्यका रूपमा समेटिएको मन्त्रालयले जनाएको छ।
संविधानअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। सोहीअनुसार अर्थ मन्त्रालयले गत चैत २० गते बजेट लेखन समिति गठन गरेको थियो।
तर, बजेट तयारीकै महत्त्वपूर्ण चरणमा मन्त्रिपरिषद्ले वैशाख १० गते समितिका सदस्य सहसचिव द्वय महेश भट्टराई र सेवन्तक पोखरेललाई सरुवा गरेको थियो। मन्त्रालयले सरुवाको औपचारिक कारण सार्वजनिक नगरे पनि स्रोतका अनुसार अनुसन्धानमा रहेका इन्फिनिटी होल्डिङ्सका सञ्चालक दीपक भट्टसँगको संलग्नता विषय बाहिरिएपछि सरुवा गरिएको हो।
सरुवापछि भट्टराईलाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रदेश सचिवका रूपमा पठाइएको छ भने पोखरेललाई मधेश प्रदेशमा सोही जिम्मेवारी दिइएको छ।
हाल बजेट लेखन समितिको संयोजकमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव उत्तरकुमार खत्री रहेका छन्। सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख धनीराम शर्मा तथा सहसचिव अमृत लम्साल रहेका छन्।
सरकारले बजेट निर्माणको अन्तिम तयारी तीव्र बनाइरहेका बेला लेखन टिमले पूर्णता पाएपछि आगामी बजेटलाई अन्तिम रूप दिने कामले गति लिने अपेक्षा गरिएको छ।



About Us
प्रतिक्रिया