एक महिनामा ४ सय १७ जना बिचौलियाहरू पक्राउ


काठमाडौं – नेपाल प्रहरीले विगत एक महिनाको अवधिमा देशभरबाट ४ सय १७ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ। जसमध्ये उपत्यकाबाट १ सय २३ जना, कोशी प्रदेशबाट ४५ जना, मधेश प्रदेशबाट ५० जना, बागमती प्रदेशबाट ७६ जना, गण्डकी प्रदेशबाट २७ जना, लुम्बिनी प्रदेशबाट ४४ जना, कर्णाली प्रदेशबाट २४ जना र सुदूरपश्चिम प्रदेशबाट २८ जना पक्राउ परेका हुन्। 

पक्राउमध्ये १ सय २१ जना उपर मुद्दा दर्ता गरिएको छ भने २ सय ९६ जना व्यक्तिहरूलाई छानविन पछि छाडिएको छ। वर्तमान परिपेक्षमा बिचौलिया रहित, नागरिकमैत्री, कानुनसम्मत, पारदर्शी र छिटो छरितो प्रभावकारी सेवा प्रवाहलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ।  

काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूले सेवाग्राहीहरूलाई छिटो र छरितो काम गरिदिने लगायतका प्रलोभनमा पारी दुःख हैरानी दिने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सक्रिय रूपमा प्रस्तुत हुँदै आइरहेको छ।